राष्ट्रिय चलचित्र महोत्सव उद्घाटनका अवसरमा सोमबार केही उत्कृष्ट चलचित्र र चलचित्रकर्मीलाई एवार्ड प्रदान गरियो । श्री ५ बडामहारानी कोमलबाट महोत्सवको उद्घाटन भएको हो । २०२२ सालदेखि २०५९ सालसम्मको कालखण्डलाई ५ खण्डमा बिभाजन परि उत्कृष्ट छनौट गरिएको छ ।
यसरी अवार्ड हात पार्नेमा २०२२ सालदेखि २०३० सालको अवधिबाट उत्कृष्ट चलचित्र 'आमा', उत्कृष्ट निर्देशक 'माइतीघर' का लागि बीएस थापा, उत्कृष्ट अभिनेता चलचित्र 'मनको बाँध' का लागि हरिप्रसाद रिमाल र उत्कृष्ट अभिनेत्री 'माइतीघर' का लागि माला सिन्हा छन् ।
त्यस्तैगरि २०३१ देखि २०४० सालसम्मको अबधिबाट चलचित्र 'कुमारी', निर्देशक चलचित्र 'सिन्दूर' का लागि प्रकाश थापा, अभिनेता 'जीवनरेखा' का लागि शिव श्रेष्ठ र अभिनेत्री 'सिन्दूर' का लागि मीनाक्षी आनन्दलाई उत्कृष्ट ठहरए । ०४१ देखि ०५० सम्ममा उत्कृष्ट चलचित्र 'प्रेमपिण्ड', उत्कृष्ट निर्देशक चलचित्र 'वासुदेव' का नीरविक्रम शाह, उत्कृष्ट अभिनेता चलचित्र 'वासुदेव' का लागि हरिहर शर्मा र उत्कृष्ट अभिनेत्री 'कन्यादान' का लागि गौरी मल्ललाई छानियो ।
०५१ देखि ०५५ सालका लागि उत्कृष्ट चलचित्र 'दक्षिणा', उत्कृष्ट निर्देशक 'सीमारेखा' का लागि किशोर रानामगर, उत्कृष्ट अभिनेता 'बलिदान' का लागि हरिवंश आचार्य र उत्कृष्ट अभिनेत्री 'राजमती' का लागि हिसिला महर्जनले प्राप्त गरे । त्यस्तै ०५६ देखि ०५९ सालका लागि उत्कृष्ट चलचित्र 'नुमाफुङ', उत्कृष्ट निर्देशक 'भानुभक्त'का लागि यादव खरेल, उत्कृष्ट अभिनेता 'वसन्ती' का लागि राजेश हमाल र उत्कृष्ट अभिनेत्री 'मुकुन्डो' का लागि मिथिला शर्माले एवार्ड प्राप्त गरे ।
यसैबीच मंगलबार उत्कृष्ट सहअभिनेता र अभिनेतृ मनोनयन गरिएको छ । मनोनयन हुनेमा सहअभिनेत्रीतर्फ चलचित्र बन्धकीबाट कविता आले र शान्ति राना, चलचत्र कर्मयोद्धाबाट मिथिला शर्मा, आमाको आशीर्वादबाट बसुन्धरा भुसाल, इन्द्रेणीबाट सुशीला रायमाझी छानिए । यस्तैगरि  उत्कृष्ट सहअभिनेता तर्फ चलचित्र जीवन रेखाबाट नीर शाह, बन्धकीबाट प्रेमदेव गिरी र गणेश गौतम, मुग्लानबाट अर्जुन श्रेष्ठ र कर्तब्यबाट मुकुन्द श्रेष्ठ रहेका छन्